रोटेपिङ घुमाउँदै छक्कापन्जा ३

काठमाडौं । घटस्थापनामा रिलिज हुने फिल्म ‘छक्का पञ्जा ३’ ले प्रचारप्रसारलाई अगाडि बढाउदै दसैं गीत (जिङ्गल ) तयार गरेको छ । अघिल्लो वर्ष झैँ यसवर्ष पनि निर्माण युनिटले फिल्मको हिट गीत ‘पहिलो नम्बरमा’ कै संगीतमा दसैं गीत (जिङ्गल ) तयार पारेका हुन् । प्रमोसन गीतको रुपमा तयार भएको यसको लम्बाई १ मिनेटको रहेको छ ।

निर्माण पक्षले ‘फनफनी घुमेको रोटे पिङ्ग, छक्का पञ्जा ३ घटस्थापना कै दिन ’ बोल राखेर प्रमोसनल गीत (जिङ्गल ) तयार पारेको हो । यसमा डेविड शंकरको स्वर रहेको छ भने दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले र्याप हानेका छन् ।

फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् । आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ ।

फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे , जितु नेपाल , यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपकसँगै अर्जुन पोखरेलको पनि संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द , कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन , पुरुषोत्तम प्रधानको छायाँकन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग , सुजिल कर्माचार्यको पार्श्वसंगीत रहनेछ ।