काठमाडौं । भदौको १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । गीत सार्वजनिक हुनु एकदिन अघि फिल्म युनिटले बाहिर ल्याएको गीतको तस्बिर हेर्दा फिल्मका नायक पुष्प खड्का गायक हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर पुष्प गायक हुन् वा होइनन् भन्ने थाहा पाउन दर्शकले गीत र फिल्म नै पर्खनुपर्ने हुन्छ ।
फिल्मका निर्देशक नवल नेपाल हुन् । फिल्ममा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ । गायक बज्रचार्य ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् ।
यो गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले नृत्य गरेका छन् । साथै, सय बढी कोरसलाई क्लबमा नचाइएको छ । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह फिल्मप्रति अझै बढ्ने बताउँछिन् ।