कबड्डी ५ का परिपक्व काजी अर्थात् दयाहाङ

काठमाडौं । फिल्म ‘कबड्डी’ श्रृंखलाको काजी पात्र हुन् दयाहाङ राई । जुन पात्रले जहीँ पुग्दा पनि दयाहाङलाई त्यही नामले अधिकांश दर्शकले चिन्छन् । यिनै काजी पात्र ‘कबड्डी’को पाँचौं संस्करण अर्थात् ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा आइपुग्दा परिपक्व भइसकेका छन् । अर्थात उनले प्रेमलाई पूर्णता पाएर वैवाहिक जीवनलाई अगाडि बढाइसकेका छन् । जुन कुरा फिल्मको टिजरमा पनि देख्न सकिन्छ ।

दयाहाङका अनुसार ‘कबड्डी ५’मा विवाहपछिको जीवनलाई कसरी अगाडि बढाउने भन्ने ध्याउन्नमा काजी हुन्छन् । ‘फिल्मले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ । जहाँ काजीले प्रेमसँगै परिवार, समाज र साथीभाइका लागि धेरै कुरामा सम्झौता गर्नुपर्छ । यसपटक काजीको जीवनमा प्रेमसँगै परिवार, समाज, साथीभाइ र बदलिँदो समयले पार्ने प्रभाव देखाइनेछ’,दयाहाङले भने, ‘प्रेमपछि सुरु हुने व्यावहारिक जीवन र त्यसका लागि गर्नुपर्ने सम्झौता नै यसपटक काजीको कथाको महत्वपूर्ण पाटो हो ।’

दयाहाङ ‘कबड्डी’ शृंखलाको सुरुदेखिकै मैयाँसँगको सम्बन्धलाई केलाउँदै पाँचौँ भागमा फेरि मैयाँसँगको भेट हुँदा काजीको मनमा पुरानो प्रेमले ल्याउने हलचल स्वाभाविक हुने बताउँछन् । ‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनकी त्यहाँ उसको सपना जोडिएको छ । यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ।’ दयाहाङ भन्छन् ।

दयाहाङले यसपटकको श्रृंखलामा राजनीतिक विषयलाई केन्द्रमा नराखिए पनि काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देख्न पाइने खुलाए । ‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने । १५ वर्ष अघिदेखि काजीको चरित्रसँग जोडिएर काम गर्दै आएका दयाहाङलाई त्यो पात्र पर्दाको पात्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको रहेछ ।

आगामी कार्तिक ६ गतेबाट रिलिज हुने फिल्ममा रामबाबु गुरुङको कथा लेखन र निर्देशन छ । फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्म कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।