काठमाडौं । राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समा सम्पन्न भएको छ । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि आयोजकले एक महिनाअघि नै आवेदन फर्म खुला गरेका थिए ।
अडिसनमा मिस नेपाल २००० उषा खड्गी, कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा आयोजक संस्था सिआईएफटीकी प्रमुख सुचिता सची निर्णायक थिए ।
अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।
सिआईएफटीकी प्रमुख सचीले प्रतियोगिताले फेसन र सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत प्राथमिकतामा राखिएको बताइन् ।
आयोजकका अनुसार एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ तथा ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतियोगी छनोट गरिँदैछ ।
‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन् । आयोजकका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको छ ।






